top of page
Search

गजल

गजल १


आउनुस हजुर आज मेरै खर्चमा चियापान हुन्छ।

दशैं सकियो तपाईंको मेरो पनि त रमजान हुन्छ।


आफन्त नचिन्ने सहरसँग मिल्दैन गाउँको विशेषता

महोदय,गाउँमा त अन्जानको पनि सम्मान हुन्छ।


तिमीलाई बिर्सेको रात के-के हुन्छ थाहा नै छैन

तिमीलाई सम्झेको रात त ननिदाई बिहान हुन्छ।


चिच्याएर गुहार मागेको खबर सुनाइदेउ है भित्ता,

आमाले भनिरहनु हुन्थ्यो तिम्रो पनि कान हुन्छ।


यादमा पत्ता पत्ताले चेप्ट्याउदै थिचेर राख्छन्

चङ्गा बनेको दिन कागजको पनि त उडान हुन्छ।


गजल २


कुनैकुनै रहरले पनि रहरको कुरा बुझ्दैन,

छानोको जस्ताले पनि खरको कुरा बुझ्दैन।


मुटु वरिपरि बस्नेले बेवास्ता गर्दा सोच्दैछु,

छिमेकिले पनि त मेरो घरको कुरा बुझ्दैन।


परिवारले तिम्लाइ पाउने कुरामा साथ नदेकै हो,

जसरी खडेरीको खोलाले बगरको कुरा बुझ्दैन


ब्याज तिरिरहनेलाइ ऋण मात्र थाहा हुन्छ,

आमाको बिधवा भत्ताले करको कुरा बुझ्दैन।


मेरो कुरा बुझ्न तिमी नै चाहिन्छ जिन्दगीभर,

पिपल बिना पनि अरुले बरको कुरा बुझ्दैन।


गजल ३


हिमाल चाहिन्छ,पहाड चाहिन्छ, मधेस चाहिन्छ

कुनैकुनै अंकको मान राख्दिन पनि शेष चाहिन्छ


सधैँ- सधैँ सबै कुरा सम्झिन त नसकिने रहेछन्

अचेल तिम्लाई सम्झिन पनि छुट्टै परिवेश चाहिन्छ


यी कुर्सी,सिरानी बनाउनेहरु पनि फगत लाग्छन

बुझ्दैनन गार्हो हुँदा त आफ्नैको अडेस चाहिन्छ


छोरी लुटिन मन्जुरी चाहिएन हस्ताक्षर चाहिएन,

सजाय पाउनलाई यो देशमा आदेश चाहिन्छ


जहाज चढ्ने छोरीलाई चाहिन्न केही नभन्नु आमा

सपनाको कोसेली बोक्न पनि सुटकेस चाहिन्छ

 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page