top of page

कथाःएउटा अन्त्य

Updated: Oct 22

फ्रेबुअरी २, २०२०

तीन वर्षपछि लस भेगास जाँदै छु, उनको परिवारलाई भेट्न । उनी अर्थात् मेरा प्रिय गोपाल अंकल । यो तीन वर्षमा हड्सन नदीमा धेरै पानी बगिसकेको छ । यहीबीच नेपाल गएर विवाह पनि गरेँ । एकलबाट घरबारे जिन्दगी सुरु गरेको छु । मुख्य कुरा त आफ्नो योग्यताअनुसारको जागिर सुरु गरेको छु, न्युयोर्कमा । भिसाको समस्या छैन । कम्पनीले ग्रिन कार्ड पनि फाइल गरिदिइसक्यो । यस मानेमा कुनै पीर चिन्ताबिना जिन्दगीको रथ गुड्दै छ ।

यतिबेला जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा छु । बाहिर बाक्लो हिउँ परिरहेको छ । हिउँकै कारण उडान प्रभावित छन् । त्यसैले मेरो फ्लाइट डेढ घण्टा ‘डिले’ भएको छ । हातमा एयरलाइन्सले पर्खाइको समयमा ‘रिफ्रेस’ हुन दिएको कफी छ  । कफीको कपबाट उडेको बाफ झैं मबाट छुटेर गएको समयमा पुग्दै छु म । पूराना दिनका याद आँखामा घुमिरहेछन् चलचित्रको रिलजस्तै । म जुन विगतको सम्झनामा डुबेको छु, ती क्षण मेरा लागि अमेरिका बसाइका कठिनतम  दिन थिए । त्यही बेला म दुःखको समुद्रमा डुब्‍नै लाग्दा उतारिदिने माझी बनेर भेटिएका थिए- गोपाल अंकल ।

पहिलो भेट- २०१५ मे, पहिलो साता ।

दुई-तीन दिनअघि नेपालमा भुइँचालोले ताण्डव मच्चाएको खबर आयो । भुइँचालो आएसँगै गाउँमा धेरैका घरगोठ भत्किएछन् । अरूका जस्तै हाम्रो बास पनि गुमेको थियो । उता जति पटक जमिन हल्लिएको समाचार आउँथ्यो, यता उति नै डरले आफ्नो मुटु हल्लाउँथ्यो । त्यही दिनदेखि न भोक न निद्राजस्तै भएको थिएँ । पढाइमा ध्यान थिएन । ल्याबमा रिसर्चको काममा मन गएकै थिएन । ज्यान अमेरिकामा, मन नेपालमा । यस्तै दिनचर्या चल्दै थियो ।

मंगलबार बिहानको नियमित साप्ताहिक मिटिङपछि प्रोफेसरले बोलायो । भन्यो, “केही सिरियस कुरा गर्नु छ । लन्चपछि मेरो अफिसमा आऊ ।”

उसको कार्यकक्षमा पुग्दा ऊ कम्प्युटरमा व्यस्त थियो ।

“प्लिज ह्याभ अ सिट (कृपया बस) । किबोर्डमा मेसिन झैं औंला नचाउँदै बोल्यो, “आई एम सेन्डिङ कपल अफ इमेल्स रिगार्डिङ माई फन्डिङ प्रपोजल, आफ्टर द्याट आई विल टक टू यू । (म आफ्नो फन्डिङ प्रपोजलसँग सम्बन्धित केही इमेल पठाउँदै छु । त्यो सकेर म तिमीसँग कुरा गर्नेछु ।)

“ओके थ्याङ्स,” औपचारिकता निर्वाह गर्दै नजिकको कुर्सीमा बसेँ । एकछिन दुवैको बोली बन्द भयो । केवल किबोर्ड चलाएको खट खट  गुन्जियो कोठामा ।

“आइएम् डन,” कम्प्युटरबाट आँखा हटाएर मतिर हेर्दै सोध्यो, “हाउ इज एभ्रिथिङ ? डुइङ गुड ?”

जवाफमा मुन्टो हल्लाएँ । ठीकै छ भन्ने सङ्केत गरेर । म चुपचाप थिएँ । उसले बिहानकै कुरा दोहोर्‍यायाे, “एक्चुअल्ली आई निड टू सेयर यू अ सिरियस म्याटर ।”

सोचेँ, केही दिनदेखि राम्ररी काम नगरेको थाहा पायो जस्तो छ । त्यही कुरा सोध्न होला । म आफ्नो कुरा भन्छु, किन मन छैन काममा भनेर । तर केही बोलिनँ । घोसेमुन्टो लगाएर बसेँ ।

ऊ सकेसम्म विनम्र भएर बोल्दै थियो, “मेरो नयाँ रिसर्च प्रोजेक्ट ढिला हुने  भो । तिमीसमेत समावेश भएको यो रिसर्च पनि यो महिनाबाट सकिँदै छ । मैले तिमीलाई समरमा पनि ४० घण्टा काम दिन्छु भनेको थिएँ । तर समय हाम्रो पक्षमा रहेन ।”

म सुनिरहेँ । ऊ पनि केही सोचेजस्तै गरेर केहीबेर चुप बस्यो । एकछिनमा उसैले आफ्नो कुराको निरन्तरता दियो, “अब त अर्को  सेमेस्टरमा पनि तिम्रो स्कलरसिप ग्यारेन्टी गर्न नसक्ने स्थितिमा पुगेँ ।”

उसले सुस्तरी सुनाएको खबरले मभित्र भुइँचालो ल्यायो । मभित्रको छटपटी उसले सजिलै महसुस गर्न सक्थ्यो । हडबडिँदै केही बोल्न खोज्दै थिएँ । मलाई सहज बनाउन ऊ आफैँ बोल्यो, “ अर्को सेमेस्टरका लागि धेरै पीर नगर । तीन महिनाको समर बिदामा कुनै न कुनै प्रपोजल एसेप्ट होला । अहिले म छ-सात वटा प्रपोजलमा काम गर्दै छु । एउटा मात्र एसेप्ट भए पनि तिमीलाई पुगिहाल्छ । त्यो पनि भएन भने म डिपार्टमेन्ट चेयरलाई रिक्वेस्ट गरौंला, ट्युसन फी अफ गर्न । तर समरको बिदामा तिम्रा लागि कुनै फन्ड नहुने भो । आफ्नो म्यानेज गर ।”

यसरी मीठो बोलीमा नमीठो खबर सुनाएर पीडा थपिदिएको थियो । मेरो विधाता बनेको प्रोफेसर मेरो पक्षमा थिएन । समयले जस्तै उसले पनि अप्ठ्यारो बाटोतिर धकल्दै थियो । एक मन त लाग्यो अब आफ्नो विवशता सुनाऊँ । घर भत्केको छ । उता सहयोग गर्नुपर्नेछ । मलाई यो बेला सहयोग गर भनेर । नेपालको भुइँचालोबारे थाहा थियो उसलाई । मेरो घर भत्केको चाहिँ थाहा थिएन । परिवारबारे सोधेको थियो । “सबै सुरक्षित छन् । तर कठिन समयको सामना गर्दै छन्,” यस्तै बताएथेँ । फेरि सोचेँ, मैले नसक्ने भएँ । अरू उपाय नहुन्जेल आफ्नो व्यवस्था गर भनेको छ । अरू विकल्प नभएरै भनेको हो भने मेरो गुनासोको के अर्थ ? सक्ने भए यस्तो भन्ने नै थिएन ।

प्रोफेसरसँगको मिटिङपछि रन्थनिएर निस्किएँ । एकातिर नेपालमा हुने परिवारको चिन्ता, अर्कोतिर तीन महिना बस्‍नेखाने पैसाको व्यवस्था गर्नु छ । फेरि अर्को सेमेस्टरबाट पनि फन्ड पाउने-नपाउने कुनै ठेगान छैन । अरू नेपाली साथीहरूलाई यो पीर थिएन । उनीहरूका प्रोफेसरसँग फन्डिङ थियो । नेपालतिरको पीर भने उस्तै थियो सबैको ।

आफूलाई भने सबै कुराको व्यवस्था हुने गरी नेपालबाट स्कलरसिपमा बोलाउने प्रोफेसरको एउटै शब्दले अँध्यारोको जङ्घारमा पुर्‍यायाे । काम खोज्‍न कता जाने ? पौडिन नजान्‍ने मान्छेलाई एक्कासि गहिरो दहमा घचेटे झैं भएको थियो । कसरी उत्रिने ? असमञ्जसमा परेँ । के गर्ने, कसो गर्ने ? स्टुडेन्ट भिसामा भएको मान्छे जता पायो उता काम दिँदैनन्‍न । भेगास कत्रो नै ठूलो छ र ? होटल, क्यासिनोहरूमा काम दिँदैनन् । त्यही दुईचार वटा इन्डियन रेस्टुरेन्ट र केही ग्यास स्टेसनबाहेक अन्त काम पाउने आशा नै भएन । दिशा हराएको जहाज झैं भएर घुम्दै थिएँ, कामको खोजीमा ।

दुई दिनमा वरपरका सबैजसो इन्डियन रेस्टुरेन्ट गएँ । “के छ लिगल स्टेटस ? के काम जानेका छौ ?” यस्तै प्रश्‍न सुरु गर्थे । स्टुडेन्ट भनेपछि पहिलेदेखि नै काम गरिराखेका मान्छे छन् भन्‍ने उत्तर पाइन्थ्यो ।

तेस्रो दिनको मध्याह्नतिर कतै पनि काम नपाएकाले निराश भएर हिँड्दै थिएँ । मे महिनाको भेगासको गर्मीमा मनभरि उकुसमुकुस लिएर निस्केको थिएँ । फुट्न नसेकेको ज्वालामुखी पृथ्वीको छातीमुनि यसरी नै हुँडलिँदो हो  । आँखाका डिलमा झर्न ठिक्क परेको आँसु रोकेर पाइला चाल्दै थिएँ । यस्तो बेला एउटी गोरी सडक पेटीमा ठुल्ठूलो स्वरमा चिच्याउँदै छे, “स्माइल प्लिज । फर मी, फर वर्ल्ड । डन्ट लुज योर स्माइल । चियर अप लाइफ...!”

अरू केके भन्दै थिई मैले ध्यान दिइनँ । अनेक पाराका मान्छे भेटिन्छन्, यो सिन सिटीमा । जसलाई जे मन पर्छ, त्यही गरिरहेका हुन्छन् । केही मान्छे उसले भने झैं नक्कली नै सही मुस्काउँदै हिँडे । केही मान्छेजम्मा भएर हेरिरहेका थिए । आफूलाई कत्रो पीर परिरहेछ, उसका लागि हाँसिदिनुपर्ने । मलाई रिस उठ्यो ।

बर्सनु अघिको बादल झैं कालोनीलो अनुहारमा मुस्कान टाँस्न सकिनँ । त्यो गोरी मतिर हेर्दै भुतभुताई, “हाउ रुड ? क्रेजी गाय ।”

गोरीले मलाई लक्ष्य गरेर कराएपछि भीडका सबैको नजर मतिर तेर्सियो । त्यही भीडबाट एक जना अधबैंसे व्यक्ति मेरो नजिक आएर सोधे, “भाइ नेपाली हो ?” “हजुर ! तर कसरी थाहा पाउनुभो ?” “सगरमाथाको चित्र भएको नेपालको नक्सावाला टिसर्ट लगाएर हिँडेपछि पनि नेपाली भनेर भनिराख्‍न पर्छ त भाइ ?”

मैले बल्ल ख्याल गरेँ । अघि इन्डियन म्यानेजरले कहाँको भन्ने नसोधी किन कुन भिसा सोध्यो भनेर ।

“हजुर पनि नेपाली पर्नुभएछ । कता पर्‍याे नि घर, दाइ ?”

“हाम्रो घर झापातिर । भाइको कता ?”

“गोरखा !”

“गोरखा ? भूकम्पले सबै सखाप नै बनायो भन्छन् । के छ तपाईंको घरतिर चैं ?”

“मेरो पनि उही त हो, घरगोठ सबै गयो । स्कुल पढ्दाका दुई जना साथी पनि खाएछ भुइँचालोले । गाउँका सबै  एकै ठाउँमा पाल हालेर एउटा नजिकको प्राथमिक विद्यालयको चौरमा गुजारा गर्दै छन् रे । बाआमासँग अस्ति कुरा हुँदा थाहा पाएको ।”

“ए ! दुःखमा पो हुनुहुँदो रहेछ । अनि कता बस्नुहुन्छ ? कति भो त भेगास आउनुभा ?”

“पाँच-छ महिना भयो, यता आको । युनिभर्सिटी छेउ बस्छु । फ्लेमिङ्गो र मेरिल्यान्ड पार्कवे क्रस स्ट्रिटमा ।”

“के गर्नुहुन्छ यता ?”

“पढ्दै छु ।”

“काम नि ?”

“काम नै खोज्दै हिँडेको हो, अहिले । कहीँकतै नपाएर दिक्क छु ।”

“अहिलेसम्म कतै काम गर्नुभएन र ?”

“युनिभर्सिटीभित्रै गर्थें, रिसर्चमा सहयोग । स्कलरसिपमा पढ्न आको । त्यही प्रोफेसरले दिने पैसाले खानेबस्ने र पढाइको व्यवस्था हुन्थ्यो ।”

“अनि अहिले के भो त फेरि ?”

“समस्या बाजा बजाएर आउँदैन भन्थे, हो रहेछ । नेपालमा भएको प्रकोपको चिन्ताले सताएको बेला यता प्रोफेसरले पैसा दिन सक्दिनँ, काम खोज भन्यो । उता घरपरिवार, इष्टमित्र सबै दुःखमा हुँदा दुईचार पैसा पठाउला भन्ने आशामा छन् । त्यही बेला आफ्नो भइराखेको सहयोग टुट्यो । बाहिर काम खोज्दा पाइँदैन । पहिले प्रोफेसरले दिने पैसा पनि पढाइ र खानबस्नलाई ठिक्क हुने हो । एक पैसा बचेको छैन । यही महिनादेखि माइनसमा गइन्छ खानेबस्ने खर्चले । अब कताबाट घरमा पैसा पठाउनु ?”

“बाबु, धेरै चिन्ता नमान्‍नू । म भरे छोरा आएपछि उसलाई तपाईंका बारे भन्दिन्छु । भोलि साँझ छ बजेपछि इन्डियन गार्डेन रेस्टुरेन्टमा जानूस् । गोपाल अङ्कलले पठाएको भनेर मेरो छोरो विष्णुलाई भेट्नू । उसले सकेको सहयोग गर्छ ।”

. . .

म पुराना यादहरूमा डुब्दै गर्दा तन्द्रामा परे जस्तो भएछु । समयको याद पनि भएन । एकै पटक एयरलाइन्सको बोर्डिङ अनाउन्समेन्टले झस्कायो । झटपट हातको कफी कप डस्टबिनमा हालेर बोर्डिङ लाइनमा उभिएँ ।

आफ्नो सिटमा बसिसकेर झोला तह लगाएँ । उडानका क्रममा पढ्न भनेर पुस्तक हातमै राखेँ । सिटबेल्ट कसेर उडानका लागि तयार रहेँ । जहाजले धरती छाडेर उचाइ लिँदै गर्दा पढ्न खोजेँ । पढ्न मनै भएन । पढ्न मन नलागेपछि निदाउने प्रयास गर्न थालेँ । मेरा आँखा चिम्म थिए । तर उनै पुराना दृश्य नाचिरहेका थिए । उनको खबर सुनेदेखि नै उनैसँग बिताएका क्षण मात्र घुमिरहे मथिङ्गलमा ।

. . .

भोलिपल्ट गाेपाल अंकलले भनेकाे सही समयमै सोही रेस्टुरेन्टमा गएँ । उनको नाम लिएर उनको छोरा विष्णुलाई भेटेँ । एकछिन सामान्य औपचारिक कुराकानी भयो । विष्णु दाइ दुई ठाउँमा काम गर्ने रहेछन् । बिहान आठदेखि पाँच बजेसम्म एउटा होटलमा हाउस किपिङ । बेलुकी छ बजेदेखि १० सम्म यही इन्डियन रेस्टुरेन्टमा । बूढाले मेरोबारे सबैकुरा राम्ररी भनेका रहेछन् ।

“तपाईंलाई कामको एकदम जरूरी रहेछ । मैले बुझेँ । अब म सहयोग गरौँला, चिन्ता नलिनूस्,” यति भनेर म्यानेजरलाई अनुरोध गरे, मेरा लागि काम दिन ।

म्यानेजरले अहिले भएकै मान्छेले पुग्‍ने बतायो । भन्यो, “तिमीलाई नाइँ भन्न मलाई गाह्रो छ । तैपनि बढी मान्छे राखेर के गर्नु ? पैसा मात्र खर्च हुने हो । उसले भित्र किचेनमा जान्दैन । बाहिरलाई अहिलेको मान्छे नै ठिक्क छ । फेरि कार्ड नभएको मान्छे बाहिर सर्भ गर्न राख्न पनि गाह्रो हुन्छ ।”

म्यानेजरले काम दिन अप्ठ्यारो मान्दा ती दाजुले सम्झाए, “अहिले भाइ साह्रै अप्ठ्यारोमा हुनुहुँदो रहेछ । भर्खरै नेपालको भुइँचालोले उहाँको घर पनि भत्कायो रे । बाबुआमा, घरपरिवार र अरु गाउँले चौरमा बसिराख्या छन् रे । यता उहाँ काम नपाएर आत्तिरहनुभएको छ । यस्तो बेला केही सहयोग गर्न सके राम्रो हुन्थ्यो ।”

“उसको घरको खबर सुन्दा नमज्जा लाग्यो । म व्यक्तिगत रूपमा केही पैसा डोनेट गर्न सक्छु । तर ओभर स्टाफिङ भो भनेर साहूले मलाई राम्रो मान्दैन ! म के गरूँ, विष्णु ?”

“मैले तिम्रो पनि समस्या बुझेँ । यसो गरौँ न त, मेरो सिफ्ट उहाँलाई देऊ बाहिर सर्भ गर्न । मलाई भन्दा कामको खाँचो उहाँलाई छ, यति बेला । अर्को केही काम नमिल्दासम्म म आउन्‍नँ काममा । उहाँलाई पठाउँछु ।”

म्यानेजरले यो कुरामा सहमति जनायो । र मैले काम पाएँ । यसरी आफ्नै काम मलाई दिएर मेरो उद्धार गरिदिए विष्णु दाइले । कत्रो ठूलो छाती, यी बाबुछोराको । मेरा लागि त विधाता नै बनेर आए ।  म इन्डियन गार्डेनमा काम गर्न थालेपछि विष्णु दाइसँग कहिले फोन त कहिले भेट हुन थाल्यो । भेटघाटका क्रममा बिस्तारै एकअर्काको अपार्टमेन्ट जानेआउने सुरु भयो । समयक्रममा थाहा भो- उहाँहरू नेपाली मूलको भुटानी समुदायको हुनुहुँदो रहेछ ।

छुट्टीको दिन प्रायः सधैँ उहाँकोमा जान्थेँ । घरका छोराबुहारी बिहानदेखि काममा जाने । ससाना यतै जन्मेका नातिनातिनी टिभी र आइप्याडमा कार्टुन हेरेर बस्ने । दुईजना बूढाबूढी सधैँ घरमै थुनिएर बसेजस्तो । बोल्ने मान्छे पनि कोही नहुँदा साह्रै नियास्रो मान्‍ने हुँदा म त्यहाँ जान्थेँ । म गएपछि कुराकानी गर्ने साथी पाएर साह्रै खुसी हुने ।

भन्थे, “तपाईं आउँदा धेरै रमाइलो लाग्छ, बाबु । अमेरिका त हामी बूढाबूढीका लागि जेल जस्तो भा’छ । भन्छन् नि, पिँजडाको सुगा । न भाषा बोल्न जानिन्छ । न केही बुझिन्छ । काम गर्न जाऊँ के गर्ने ? दिनभर कति सुत्ने ? उसै पनि उमेर बढ्दै गएपछि निद्रा लाग्ने होइन । बाहिरफेर घुम्‍न जाऊँ, टाढा जान गाडी चलाउन जानिन्‍न । यसो त्यही घरछेउको पार्क गयो, एकछिन घुमेर फर्कियो । यस्तै हो हाम्रो त दिन बिताउने मेलो । अस्ति तपाईंलाई बाटोमा भेट्दा पनि पार्कबाट फर्कंदै थिएँ र मौका मिलेछ ।”

“अलि परतिर सानो नेपाली कम्युनिटी पनि छ भन्ने सुनेको छु । उहाँहरूसँग भेटघाट हुन्‍न र अङ्कल ?”

“हुन्‍न भाइ हुन्‍न । उहाँहरू हामीसँग भेटघाट गर्न खोज्नुहुन्‍न । भुटानी हुन्, शरणार्थी त हो नि भनेर छुट्याउनुहुँदो रहेछ जता पुगे पनि । आखिर सात समुद्र काटेर यति पर आएपछि त हामी एउटै दाजुभाइ हौँ जस्तो मान्दिए हुने । हाम्रो समुदाय पनि नजिकिन खोज्दैन । सबै मिलेर बसे त हुने हो ।”

“त्यही त एउटै भाषा, संस्कृति र चाडपर्व सबै मिल्ने । सबैको पुर्खाको बस्ती नेपाल नै भएपछि यहाँ त हाम्रो एउटै चिनारी नेपाली जाति मात्रै त भयो नि हैन र ?” मैले उहाँका कुरामा समर्थन जनाउँदै बोलेँ ।

“हो नि भाइ । भोलि तपाईंको बच्चा यहाँ जन्मिँदाको परिचय र अहिले मेरो परिचय एउटै त हो यो देशमा । तपाईंको छोराका बाबुको देश पनि नेपाल, मेरा बाबु, बाजेको देश पनि नेपाल । के फरक छ त ? आखिर सम्पूर्ण रीतिरिवाज भाषाभाषी एउटै भएपछि ।”

बेलाबेलाको हाम्रो भेटमा यस्तै गफगाफ हुन्थ्यो ।

तीन महिनामा तीज आयो । मलाई प्रोफेसरले पुनः फन्डिङ मिलाइदिएकाले रेस्टुरेन्टको काम छाडिसकेको थिएँ । मलाई पनि तीज मान्‍न बोलाएका थिए । यता आफ्नैजस्तो गरी माया गर्ने, उता नेपालमा छोराले चाडबाडमा नियास्रो नमानोस् भनेर पीर गर्ने । दुवै कुराले गर्दा दर खाने बेलुका गएँ । म सधैँजसो गोपाल अङ्कलसँगै गफ गर्न थालेँ । म जाँदा सबैभन्दा खुसी हुने पनि उनै हुन् । म त्यहाँ गएपछि कुरा सुन्दिने मान्छे हुन्थ्यो, उनका लागि ।

आफूभित्रका उकुसमुकुस खोल्न पाउँदाको सन्तुष्टि उनको मुहारको चमकले देखाउँथ्यो । कहिले भुटान हुँदाको आफ्नो बालापनको रमाइलो सुनाउँथे । कहिले झापाको क्याम्प बस्दाको दुःखका कहानी । मेरो काम बेलाबेला “हो हो, हजुर हजुर” भनेर उनका कुरा सुन्ने नै हुन्थ्यो । यसरी हरेक पटक भेट्दा कुराकानीको अन्त्यमा भने देशविहीन हुनुको फ्रस्टेसन कुनै न कुनै रुपमा पोख्थे ।  

“अङ्कल एउटा कुरा सोधौं ?” कुराकानीका क्रममा मैले भनेँ।

“हजुर सोध्‍नूस् न !”

“तपाईंहरू बाबुछोराले मलाई ठूलो गुन लाउनुभा’छ । तर चिन्दै नचिनेको मान्छेलाई किन त्यत्रो महत्त्व दिनुभा ?”

“के कुरा गर्नु र भाइ । हामी त आफन्तबाटै लखिटेएका हौँ । त्यसैले रगतको नाता मात्र पनि नजिक लाग्‍न छाड्यो हौ अब त । तर आफूले दुःख पाउँदा कसैले सानो सहयोग गरे पनि ठूलो लाग्थ्यो । कसैले त आफ्नो अप्ठ्यारो बुझिदियो भनेर कति खुसी भइन्थ्यो । त्यसैले पनि आफ्ना पुराना दुःखका दिन याद आउँछ । आफूले भ्याउनेसम्मको सहयोग गर्न मन लाग्छ । आफ्नो सहयोगले अरूको अप्ठ्यारो सल्टेको देख्दा आनन्द लाग्छ । तपाईंलाई अस्तिन त्यो अवस्थामा देख्दा साह्रै माया लाग्यो । आफूले काम खोजी हिँड्दा भोगेको हैरानी सम्झिएँ । र छोरोलाई “केही  सक्छस् भने सहयोग गर् न” भनेको हुँ । हुन त तपाईं पढेको मान्छे । दुई वर्षपछि घुम्ने कुर्सीमा बसेर कम्प्युटरमा काम गर्ने हो । हाम्रा छोराहरूले जस्तो जुठा भाँडा टिप्‍नुपर्ने मान्छे हैन । तैपनि हामीले अहिले खोज्दिन सक्ने काम भनेको त्यही मात्र हो । आफ्नो गर्जो टार्न जे काम गरे पनि हुन्छ । काम गरेर खान लाज मान्‍नुहुन्‍न भाइ । आफ्नो दिन आएपछि आफ्नै योग्यताको काम पनि गर्नुहोला नि ।”

“हैन हैन । मलाई काम गर्न केही लाज छैन । चोरेर, छलेर खान पो हुन्न । आफ्नो मिहिनेतले खान केको लाज ? फेरि मैले त्यही काम खोजेँ । पाइनँ । तपाईंले भन्दिनुभो । पाएँ । मेरो अहिले के काम भनेर रोजीछाडी गर्ने बेला हैन । जे पाइन्छ, त्यही गर्नुपर्ने अवस्था छ ।”

“हो नि पहिलो कुरा पेट पाल्ने अनि बल्ल ठूलोसानो रोज्‍ने हो ।”

“हजुर । अनि तपाईंहरू कसरी लखेटिनुभो र आफन्तबाट ? तपाईंहरूलाई त भुटान सरकारले लखेटेको हैन र ?”

“अरूलाई चैं भोटेले लखेट्या होला । हाम्लाई चैं हैन । हाम्लाई त हाम्रै बडाबाले लखेट्या हुन् भाइ ।”

“लौ के भन्नुभा ? त्यस्तो पनि हुन्छ ?” मलाई उनको कुराले छक्क बनायो ।

“सबै जना यौटै नजिरले लखेटिएका हैनन् र ?”

“भाइले यौटा उखान सुन्नुभा छैन ?- बाघको मुख हेर्नुपरे बिरालाको अनुहार हेर्नू । शत्रुको अनुहार हेर्न मन लागे दाजुभाइलाई हेर्नू भन्ने ?”

“सुनेको त हो । तर तपाईंले भुटान छोड्नु र यो उखान कहाँ मिल्छ चैं बुझिनँ ।”

“भुटान सरकारले १९५७ को कागज हुनेलाई निकालेको छैन नि ।”

“के कागज अङ्कल ?”

“सन् १९५७ र त्यसअघिको मालपोतको कागजात हुनेले बस्‍न पाउने अरू बाँकीले देश छाड्नुपर्ने नियम आयो । हाम्रो पनि बडाबाको नाउँमा थियो, सम्पूर्ण परिवारको जग्गा । अन्तिममा परिवारका सदस्य कोको भनेर कित्ताकाट गर्दा आफ्ना छोरा र दुई बहिनीको मात्र नाम टिपाइदिए, मालअड्डाको भोटेलाई ।”

“हो र ? अनि अरू बोलेनन् त ?”

“सम्पत्तिको लोभले आफ्नै दाजुभाइलाई जिउँदै मारे भाइ । म आफैँ गएको थिएँ हाम्रो बाको तर्फबाट नाम टिपाउन बडाबासँग । तर सम्पत्ति भाग लाउनु नपर्ने जतिको नाम भनिराखेर बेहोस भएको नाटक गरे । हप्ता दिनसम्म बोल्नु न खानु गरेर ओछ्यानमा सुते, अधर्मी ।” यसो भन्दै गर्दा गोपाल अङ्कलको आँसु आँखाको डिल भत्काएर गालाको बाटो बगिरहेको थियो ।

त्यो साँझ हामी सबै भावुक भयौँ । खाना खाएर म आफ्नै अपार्टमेन्ट फर्किएँ ।  पढाइ, थेसिस र रिसर्चको काममा व्यस्त हुन थालेपछि धेरै भेटघाट हुन छाडेको थियो । बेलाबेला फोनमा कुरा हुँदा “माया मार्नुभो त भाइ” भन्नुहुन्थ्यो ।

दुईचार महिनापछि एक दिन अङ्कललाई भेट्न गएँ । सबैभन्दा पहिले दुःखद समाचार सुनाउनुभयो, “अस्ति यहाँ यौटा घटना भो नि भाइ, थाहा पाउनुभो ?”

“कुन घटना अङ्कल ?”  

“एक जना हाम्रै भुटानी भाइले आत्महत्या गरेछन् नि ।”

“ए हो र ? के कारण रै’छ केही थाहा भो ?”

“पहिल्यैबाट डिप्रेसन जस्तोमा थिए भन्ने सुनियो । श्रीमान श्रीमतीको खटपट रहेछ, लामै समयबाट । सधैँ जस्तो झगडा गर्थे रे ।”

“अमेरिका आउनु अघिदेखि नै कि ?” मैले जिज्ञासा राखेँ ।  

“झापा क्याम्पमा हुँदा त ठीकै थियो क्यारे । छिमेकमै बस्थे उता हुँदा । त्यति बेला त्यस्तो कुरा केही सुनिएको थिएन । यहाँ आएपछि चालढालै फरक गर्न थालेका थिए । तँभन्दा के कम ? म आफैँ कमाउने भएपछि तेरो अरनखटनमा किन बस्नु भन्‍ने श्रीमती चाहिँ । बूढा पनि नेपालमा जस्तै आफ्नोअनुसार चलोस् भन्ने । दुवै उस्ता जस्तो लाग्छ हौ मलाई त । यहाँ आएर कसले के सिकायो कुन्‍नि, सबै स्वतन्त्र हो भन्दै धेरैको घरबार टुटेको पो सुन्छु त अचेल । खै युवाले पनि यहाँको चालचालन राम्रोसँग टिप्‍न जानेनन् ।”

उनले मलाई हरेक पटक केही न केही गुनासोका कुरा सुनाउँथे ।

. . .

अन्तिम भेट- २०१७ जनवरी, पहिलो साता ।

“अङ्कल मेरो यहाँको पढाइ सकियो । अब भेगास छाड्ने भएँ ।”

न्युयोर्क आउनुअघि भेट्न गएको थिएँ ।

“ए लौ तपाईं यता हुनुहुन्थ्यो । आफ्नै छोरा जस्तो लाग्‍ने । अब तपाईं पनि छाडेर जानुहुने भएछ साह्रै नरमाइलो पो हुने भो त,” उनले दुखेसो गरे ।

“पढाइअनुसारको काम पाइयो । ग्रिनकार्ड पनि गरिदिन्छु भनेको छ, कम्पनीले । जहाँ पुगे पनि सम्पर्कमै बसौंला नि,” मैले सम्झाएथेँ ।

“बाबु आआफ्नो भाग्य । को कता पुग्‍नुपरेको छ, त्यही हुने त हो नि । तपाईंको राम्रो होस् । हाम्लाई न्यास्रो हुने भएर नजानूस् भन्न पनि मिलेन,” आफैँले चित्त बुझाएँ ।

“तपाईंलाई अमेरिका मन परेको छैन जस्तो लाग्छ । यत्रो सुखसुविधा वैभवले भरिपूर्ण देशमा किन खुसी नहुनुभा ?” जानुअघि मेरो मनको प्रश्न गरेँ ।

“हो भाइ, खुसी छैन । म त भुटानमै फिर्ता गरिदेओस् भन्नेमा छु अझै पनि । यहाँ त भाषा र चालचलनको कारण पनि धैरै दुःख पाइसकियो । एक पटक मासु काट्दै थेँ । घरमा हामी बूढाबूढी मात्र । कसैले ढोकाको घण्टी बजायो । हातमा चक्कु नै लिएर ढोका खोलेँ । ए रात्तै, त्यसपछि त मेरो बाह्र बजिहाल्यो नि । हतियार लिएर आयो भनेर पुलिसलाई खबर गरिदियो । पुलिस आयो समाउन । के भन्नु ? बोल्न जानिन्‍न । लाटो भैयो हेर्नूस् । वरिपरि अङ्ग्रेजी जान्ने केटा कोही थिएनन् । सबै कामकाममा गएका । धेरै पछिसम्म दुःख पाइयो नि भाइ, त्यो सानो कुराले । मलाई त यस्तै कुराले गर्दा अत्यास लागेर आउँछ ।”

“विश्वका सबैजसो देशका मान्छे यहाँ आउन खोज्छन् । हामी यहाँ आएर भिसाको समस्याले कति मर्कामा पर्छाैँ। तपाईंहरू त सबै परिवार नातागोतासहित यहाँ बस्न पाउनुभाछ । नेपालमा, भुटानमा हुनुभन्दा त सबै जना यसरी बस्नु गज्जब हैन र ?”

“तपाईंको त घर छ । देश छ । कम से कम आफ्नो माटो छ । जोसँग केही हुँदैन नि, त्यसलाई मात्र थाहा हुन्छ माटो नहुनुको पीडा । तपाईं यहाँ बस्नुहुन्छ अहिले । तर कुनै दिन तपाईंलाई घर फर्किन मन लागेको बेला फर्किने ठाउँ छ । आफू जन्मेहुर्केको ठाउँ छ । बालापनमा बिताएको ठाउँ पुग्न सक्नुहुन्छ । हामीलाई हेर्नुस् त यहाँ । कहाँ जाने हामी ? देशविहीन मान्छे । नागरिकताबिनाको मान्छे । भाषा हराएका जाति भयौं । न आफ्नो भाषा कोही बुझ्छ, न हामी उनीहरुको भाषा बुझ्छौं । आफू जन्मे हुर्केको ठाउँमा जान नपाउनुको पीडा तपाईं बुझ्नुहुन्न ।”

म अवाक् रहेँ ।

उनी एकोहोरो बोले, “नागरिकता लिन पाए त भुटान घुम्न जाने रहर छ । अमेरिकाको नागरिकता भएपछि त रोक्न नसक्लान् नि । भुटान गएर आफू खेली हुर्केको ठाउँको एमाडाछी खानु छ, मर्नुअघि।  मान्‍नूस् त्यो मेरो अन्तिम इच्छा हो  । तर खै ? नागरिकता झिक्नै गाह्रो रै’छ हामी जस्ता अनपढ मान्छेलाई ।”

. . .

“अब १५ मिनेटमा भेगासमा ल्यान्ड गर्दैछौँ । कृपया सिटबेल्ट राम्ररी बाँध्‍नूहोला । इलेक्ट्रोनिक्स सामान फ्लाइट मोडमा राख्‍नूहोला,” जहाज ल्यान्ड गर्न लागेको अनाउन्समेन्टले मलाई विगतबाट वर्तमानमा ल्याइदियो ।

मलाई छोरालाई झैं माया गर्ने गोपाल अङ्कलले यहाँको एकाकीसँग हारेर आत्महत्याको बाटो रोजे । अब केही क्षणमा मैले उनको मृत शरीर देख्नुपर्नेछ । यो सम्झेरै मन भारी भयो । सबैभन्दा दुःख उनको नागरिक बन्‍ने र भुटान टेक्ने सपना अपुरो भएकोमा लाग्यो । जीवनभर एउटा मरिचिका जस्तो सपनाको पछि दौडिरहे। एउटा असफल पर्वतारोही जस्तो , आँखाभरि शिखरको लालसा बोकेरै आँखा बन्द गरे। गोपाल अङ्कल , तपाईंको दु:ख जति बुझ्न कोसिस गरे पनि मन बुझाउन सकिरहेको छैन।

102 views0 comments

Recent Posts

See All

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page