छन्द-अनुष्टुप
कर्ममा जिन्दगी बोल्छ गीत गाई प्रभातमा तरङ्ग फैलिदै जान्छ देहका अङ्गअङ्गमा बल्दछन् कर्मका दीप भित्री चक्षु खुलाउँदै ज्योत्स्नाको बीज रोपेर मीठा फल फलाउँदै १
निद्रा आलस्यता क्रोध शत्रु हुन् कर्मका सधैं लक्ष्य आँट र मुस्कान मित्र हुन् कर्मका सधैँ बगाई पसिना सारा बजार्दा नित्य पाखुरा चमेली वागमा फुल्छन् हुन्छन् खेत हराभरा २
जस्तो गरिन्छ यो कर्म त्यस्तै नै फल मिल्दछ फल मिल्छ कुनै चाँडो कुनै अबेर मिल्दछ कर्मको फल यो आफ्नो आफैले भोग्नु पर्दछ अग्निमा हात पर्नाले हातमै अति पोल्दछ ३
काममा व्यस्त बन्नाले खेल्दैनन् मनमा कुरा शरीर स्वस्थ्य यो बन्छ पुगिन्छ चुम्न टाकुरा। हुँदैन गर्नु अर्काको निन्दा वा कुभलो कतै आफ्नो पौरखमा रम्दा छ उन्नति जताततै ।।४
अरूको दोष देख्नाले आफैंलाई पिरोल्दछ गरेर नित्य अभ्यास आफैं सुध्रिनु पर्दछ। आफूलाई सदा श्रद्धा सम्मान गर्नु पर्दछ आफू भलो भए मात्र भलो संसार बन्दछ।।५
जहिल्यै जिन्दगी आफ्नो मार्ग लिएर चल्दछ अर्काको सँग दाँजेर जिन्दगी बाँच्नु व्यर्थ छ। कर्तव्य काँधमा बोकी कर्मशील बने तन फेर्नेछ कर्मले भाग्य कर्ममै फुल्छ जीवन।।६
गर्न सक्छु म भन्नेले आँटले काम गर्दछ गर्नै सक्दिन यो काम भन्ने पछाडि पर्दछ बनाई योजना नित्य काम गर्न शुरू गरे पछुताउनु पर्दैन पुगिन्छ लक्ष्यमा भरे।।७
Comments