कविता
- शब्दास्त्र
- Oct 15, 2022
- 1 min read
हरदिन आमाको आँखामा नाचिरहन्छ
एक स्तब्धता
जसलाई हटाउन सकेको छैन समयको
गोलगोल चक्रले
न त सम्बोधन गर्न सकेको छ व्यवस्थाको परिवर्तनले।।
हृदयभरि समयका थुप्रैथुप्रै घाउहरुले चिथोरेर
रातरातभर ऐठन परेको कुरा आमा स्वयम् बाहेक
कसैलाई थाहा छैन !
सोच्छु,
चाडवाडहरुले आमाहरुलाई उमङ्ग नल्याएको
कति बर्ष पुग्यो होला?
आमाका रहरहरु बेरङ्ग बनेर फुङ्ग उडेको
कति साल नाध्यो होला?
सायद त्यति नै जति उनले माइती छोडिन्!
आमाको सपनामा कहिल्यै आएनन् अरे
वायुपङ्खी घोडाका राजकुमारहरु!
बरु अचेल मुटुभित्रै पस्छन् अरे डाँडा काटेर
गएका आफ्नै सन्तानहरु!
संसारका सब्बैसब्बै मानिसहरु दुख परे आमा सम्झन्छन् ।
प्रेम,स्नेह र ममताको खातिर आमा सम्झन्छन् ।
तर मसँग एउटै प्रश्न छ,
आमाहरुलाई दुख परे,आमाहरुलाई प्रेम चाहिए
कसलाई सम्झने??
Comments