top of page
Writer's pictureशब्दास्त्र

कुराकानी

शान्ता सिंखडा नेपालमा बसेर अध्यात्म र योग साधना गर्नुहुन्छ।साथै उहां साहित्यको कथा र कविता विधामा कलम चलाउनु हुन्छ।उहांको “अध्यात्म कथा” कथा कृति बजारमा आईसकेको छ। अध्यात्म,ध्यान,योग साधना र साहित्यको वरपर रहेर “शब्दास्त्र सहकर्मी”-ले उहांसंग कुराकानी गरेका छन्।


प्रस्तुत छ कुराकानी।


प्रश्नः

जीवन के हो?


उत्तरः यो प्रश्न नै जटिल र विरोधाभास लाग्छ किनकी यहाँ हरेकले आ-आफ्नो अनुभूति र आवश्यकताअनुसार जीवनको बिम्ब बनाउँछन्।मैले भन्नुपर्दा जीवन समग्रता हो र जीवनको उद्देश्य स्वयंको अर्थात् त्यही समग्रताको खोज हो।

प्रश्नः

विरोधाभास र जटिल भन्नुभयो यस्तो किन छ ? र जीवनको बारेमा खोज गर्दा जगत् पनि सँगसँगै आउने गर्दछ। जीवन समग्रताको खोजभन्दै गर्दा जगतलाई कसरी हेर्नु भएको छ ?


उत्तरः विरोधाभास यस कारण छ कि कसैको अनुभूतिसँग कसैको अनुभूति मिल्दैन । त्यसैले जटिल छ । एउटै परिभाषाले सबैको चित्त बुझ्दैन ।मलाई लाग्छ, जीवन भएरै जगत छ । यदि जीवन हुन्थेन भने यो जगत् जगत् नभएर एउटा ग्रह मात्र हुन्थ्यो । जगतको परिभाषा जीवनलेदिएको हो भन्ने लाग्छ।


प्रश्नः

जीवन र जगतको विषय उठेपछि सँगसँगै अर्को विषय धर्म जेलिएर आउॅंछ। हिजोआज धर्म भन्ने बित्तिकै नाक देब्राउने परिपाटी छ।यस्तो किन छ र धर्मलाई हजुरले कसरी हेर्नु भएको छ ? कसरी बुझ्नु हुन्छ ? र धर्म जीवन र जगतसँग कस्तो सम्बन्ध राख्दछ ?


उत्तरः वास्तवमा मैले भन्नुपर्दा धारणा गरिएको र धारणा गर्न लायक आचरण नै धर्म हो। धर्म भन्ने बित्तिकै वितृष्णाजस्तो देखिनु, यो नबुझेर हो।धर्मले नै जीवन र जगतको अस्तित्वलाई अझ मूर्त बनाउँछ भन्ने लाग्छ। जस्तै: गीतामा भगवानले सबै धर्मलाई छोडेर मेरो शरणमा आऊभन्नुभएको छ । त्यहाँ धर्मको अर्थ कुनै सम्प्रदाय होइन । अपितु सबै आचरण र व्यवहार भन्ने बुझिन्छ अनि व्यवहार छोड्नुको मतलबव्यवहारिकता छोड्नु हैन, आशक्ती छोड्नु हो भनेर बुझ्नु जरुरी छ।


प्रश्नः

“धारणा गर्न लायक आचरण” भन्नुभयो । यसो भन्दै गर्दा आचरण के हो र धारणा गर्न लायक भन्नुको गुण अर्थ के हो ? धर्म आफैमाविराट् विषय हो। अङ्ग्रेजीमा रिलिजन भनेर साँघुराउने काम गरिएको छ भन्ने तर्क यदाकदा छ। यसलाई कसरी हेर्नुभएको छ ? र के धर्मअगम्य विषय हो ?


उत्तरः जो सार्वभौम सत्य हो, त्यही नै आचरण हो। सही त हो किनकी धर्म सम्प्रदाय हैन तर सही र सिद्ध सम्प्रदाय धर्मसम्म पुग्ने मार्ग बन्नसक्छ। नपुगुन्जेल अगम्य नै छ तर पुगेपछि अत्यन्त सरल र सुगम छ।


प्रश्नः

हिजोआज म आध्यात्मिक हुँ भन्ने फेसनजस्तो छ। धार्मिक हुनु गलत हो जस्तो भाष्य सिर्जना गरिएको छ । के साँच्चैमा यो गलत हो ? यस्तोमा के धर्मसँग अध्यात्म सँगै छ ? छ भने कसरी ? छैन भने कसरी ? के यी दुई विषयमा तादात्म्य सम्बन्ध छ ? बजारमा व्यापकता छ, अचेल म धार्मिक हैन आध्यात्मिक हुँ भन्ने। के धार्मिक हुनु र आध्यात्मिक हुनु फरक वैचारिकी हो ?


उत्तरः हो । अहिले अध्यात्मको नाममा फेसन जस्तै भएको छ । यस्तो फेसनमा न धर्म रहन्छ न अध्यात्म किनकी धर्म र अध्यात्मको पूरकसम्बन्ध हुन्छ। म धार्मिक हैन आध्यात्मिक हुँ भन्ने मान्छे कि गलत छ कि भ्रममा छ । किनकी यो कुराले उसले धर्मलाई सम्प्रदायबुझिरहेको भान हुन्छ। अत्यन्त गौणमा गएर नियाल्ने हो भने धार्मिक हुनु र आध्यात्मिक हुनु फरक होइन । अध्यात्मको मतलब विज्ञानआत्मा अर्थात् जीवात्मा हो । जीवात्माको उद्देश्य सूक्ष्म आत्मा अर्थात् परमात्मामा लय हुनु हो । यी दुवै अवस्थालाई जान्ने मान्छे नैअध्यात्मको पथिक हो । त्यहाँसम्म पुग्ने मान्छे आध्यात्मिक हो । यो कुरा उपनिषद्हरूमा स्पष्ट नै छ । त्यसैले अध्यात्मलाई अपनाउनु नैवास्तविक धर्म हो।


प्रश्न :

यस्को मतलब आजको ठुलो जमात भ्रममा जिएको छ। जीवन जगतलाई भ्रम मान्ने माया भन्ने एकथरी जमात छ। उनीहरूले निर्गुणनिराकार सत्ताको वकालत गर्छन र अर्को थरी सगुण साकार सत्ताको वकालत गर्छ। पक्ष पोषण गर्छ।के यी तीनै थरी भ्रममा जिएका हुन्या के ? के यी तीनै थरी जमातमा पार्थक्य छन् ?


उत्तरः त्यस्तै नै देखिन्छ। जगतमा माया व्याप्त छ । जीवन मायाले ग्रसित छ । निर्गुणको एक अर्थ गुणरहित हुन्छ भने अर्को अर्थत्रिगुणलाई जितेको अवस्था हो। साधनाका विभिन्न बाटाहरू हुन्छन् । मान्छेहरूले आआफ्नो गुण र वृत्तिअनुरूप नै साधनाको बाटोरोज्छन् । तसर्थ, सबैको गन्तव्य एउटै नहुन सक्छ तर गलत पनि कोही नहुन सक्छन् । एकले अर्काको अस्तित्वलाई स्वीकार गर्दैनन् र म रमेरै ठिक भन्ने अहम् आउँछ भने त्यहाँ उनीहरू भ्रममा नै छन् भन्ने बुझिन्छ।


प्रश्नः

त्रिगुणलाई जित्नु त्रिगुणातित हुनु हो। यो जटिल प्रक्रिया हो।प्रारम्भमै अहङ्कारलाई तिलाञ्जलि दिन पर्ने हुन्छ।अहङ्कारनै सृष्टिकोसंवहाक हो। यस्तोमा कोही किन र कसरी अहङ्कार शून्य हुन सक्छ ?


उत्तरः महापुरुषहरू भन्नुहुन्छ "व्यक्तिमा अहङ्कार पछिसम्म रहन्छ । जब उसले अहङ्कारलाई जित्छ तब गुणलाई पनि जित्छ र अहङ्कारसृष्टिको संवाहक हो । विनाअहङ्कार सङ्कल्प हुन्न, विनासङ्कल्प सृष्टिको चक्र चल्दैन। यस्तोमा भगवत् प्राप्तिको उद्देश्य राखेरअगाडि बढ्नेले अहङ्कार शून्य हुनु जरुरी छ र भगवानप्रति अनन्य भक्ती, प्रेम, समर्पण र निष्ठाले अहङ्कारको वेग घटाउँदै लैजान्छ रएक बिन्दुमा शून्य गरिदिन्छ।


प्रश्नः

भगवान्, आत्मा, परमात्माको अवधारणा के हो ?


उत्तरः प्रकृति र पुरुषको एकात्मक स्वरूप नै भगवान् हो। उसैलाई नै आत्मा र परमात्मा पनि भनिन्छ।


प्रश्नः

प्रकृति र पुरूषको एकात्मक स्वरूप नै भगवान् भन्दै गर्दा “स वै न देवासुरमर्त्यतिर्यङ् न स्त्री न षण्ढो न पुमान् न जन्तु:” (श्रीमद्भागवत८ः३ः२४) - अर्थात भगवान् सुर असुर क्यै हैन। न मानव न पक्षी, न भूत, पिशाच क्यै हो। न पुरूष हो । न महाला हो न तेस्रो लिङ्गी हो। हजुरको यसमा क्यै भन्न छ?


उत्तरःभगवान् परम चेतनाको सम्बोधन हो । एकात्मक भएरै कुनै एकल अस्तित्वमा नदेखिएको हो।


प्रश्नः

हामीले पूज्दै र बुझ्दै आएका भगवान् जस्तो कि विष्णु र विष्णुका अवतार स्वरूप, शिव र शिवका अवतारस्वरूप, मातादी-हरूकलङ्करहित छैनन्। कलङ्कसहितकालाई हामी भगवान् मान्दैनौँ भन्ने तर्क हिजोआज यदाकदा सुन्नमा आउॅंछ। यस्तो किन छ ?


उत्तरः सबै भन्दा पहिला यो बुझ्नु जरुरी छ कि । देवत्व र भगवत्व फरक अवस्था हो । देवलोक र भगवतधाम फरक स्थान हो । देवतागुणयुक्त हुन्छन् भने भगवान निर्गुण हुन्छन्। देवत्व र भगवत्वलाई बुझेपछि यस्तो समस्या नआउलान।


प्रश्नः

यि त भए धर्म,अध्यात्म र भगवान परक प्रश्नोत्तर।यहि बिषयसंग समानन्तर हिड्ने अर्को बिषय “साधना,योग र ध्यान” छ। र हजुरकोयसमा बिशेष रूची पनि छ।यसबारेमा केही भन्दिनु हुन्थ्यो की? र मनुष्य जीवनमा यि तीन आयमको अवस्यकता के कस्तो छ?


उत्तर:साधना, योग र ध्यानको विषयमा भन्नुपर्दा योग प्राप्तिको लागि गरिने विभिन्न कर्मका अभ्यास नै साधना हो । अथवा योगकोमन्जिलसम्म पुग्ने मार्ग हो साधना ध्यान पनि त्यसको एउटा पाटो हो।सामान्य भाषामा योगा आसनलाई नै योग भन्निन्छ तसर्थ योगपछी ध्यान लाग्छ भन्ने धारणा छ । तर अध्यात्ममा ठिक उल्टो छ । योगएउटा घटना हो । जीवात्मा र परमात्माको मिलन विन्दुलाई नै योग भनिन्छ । तसर्थ यहाँ ध्यानपछी स्वत: योग घट्ने गर्छ ।


प्रश्नः

योग योगा भएको छ। यो भाषाको समस्या होला।र यो गौण कुरा भयो। तर समस्या के छ भने योग योगा भएसंगै शारिरिक एकसर्साईजभन्ने मात्र बुझियो।वास्तवमा योग के हो? यसलाई कसरी बुझौं?


उत्तरः वास्तवमा योगको अर्थ त जोड हो । योगको सर्वोपरि उद्देश्य त जीवात्मालाई परमात्मासँग एक गराउनु हो । तर आजभोली शारीरिककसरतलाई नै योग भन्ने गरेको पाइन्छ । शारीरिक कसरतले पनि शरीर र मनलाई स्वास्थ्यसँग जोडेकै हुन्छ । यहि कसरत आसनकोरुपमा परिवर्तित भैसक्दा हठयोगको एउटा अंग बन्यो । जुन योगका विभिन्न स्वरुप मध्ये एक हो


प्रश्नः

हजुरको साहित्यमा रूचि उत्तिकै छ।”अध्यात्म कथा” पुस्तक पनि बजारमा गई सकेको अवस्था छ।धर्म,अध्यात्म,योग संग साहित्यकोजोड घटाउ कस्तो छ?


उत्तरः हो म साहित्यमा सानैदेखि रुचि राख्थें । भेटेसम्म पढ्थें कथा कविताका पुस्तकहरू । लेख्थें पनि । तर कसैलाई सुनाउँदिनथें ।देखाउँदिनथें । मेरो यहि अनुभवले भन्छ साहित्य हामीभित्र उर्लिरहने भावको छालहरूलाई व्यवस्थित गरि अभिव्यक्त गर्ने एउटा सरसमाध्यम हो । साहित्य पनि एक प्रकारको साधनाकै पाटो हो । किनकी संसारमा धर्म, अध्यात्म र योगको अभिव्यक्त पनि साहित्यबाटैहुन्छ।


प्रश्नः

हजुरले एकपटक जिरो र शून्य एकै हैन यस्मा पार्थक्य छ भन्ने आशयको स्टाटस जस्तो राख्नु भएको थियो। सारमा यस्को मतलव केहो?


उत्तरः अहो हजुरले धेरै अगाडि सोध्नु भएको थियो । अरु विषयमा चर्चा भए नि यो विषयमा हामीले चर्चा गरेनछौं । मैले बताउँछु भनेको थें ।भुलेछु माफी मागें।जिरो हुनु र शून्य हुनु मलाई एकै लाग्दैन । यो अर्थमा मैले भनेको थिएँ । यदि अध्ययन गरेर मान्छेले आफूभित्रका खराब वृतिहरूलाई(काम, क्रोध, लोभ, मोह, मद्, मात्सर्य) बसमा गर्न सक्दै भने उ जिरो हुन्छ । त्यसको ठिक विपरीत उसले आफ्नो ज्ञानको सहायताले यीवृतिहरूलाई वसमा गर्न सक्नु नै शून्य हुनु हो । किनकी यी वृतिहरूले मनलाई सदैव चन्चल बनाउँछ । चन्चल मन शून्य कहिल्यै हुन्न।


प्रश्नः

र अन्त्यमा हजुरको नजरमा पढ्नै पर्ने पुस्तक?


उत्तरः मलाई श्रीमद्भगवत गीता पूर्ण पुस्तक हो भन्ने लाग्छ । यदि बुझेर अध्ययन गर्ने हो भने यसमा हरेक समस्याको निराकरण भेटिन्छ ।हरेक विकारको शुद्धीकरण भेटिन्छ । तर बुझ्न समय लाग्छ अक्सर।

122 views0 comments

Recent Posts

See All

Yorumlar

5 üzerinden 0 yıldız
Henüz hiç puanlama yok

Puanlama ekleyin
bottom of page