केही काम नभएर यत्तिकै बसेको दिन
अहँ पटक्कै निद्रा लाग्दैन
परीक्षा सकिएको दिन खुब निदाउछु भनेको बिद्यार्थी झैं
त्यही दिन- भाले ब्युझाउन ब्युझन्छु
अत्याधिक व्यस्त भएकै बेला आउँछन्-
कविताका हरफहरू.....
मालिक अगाडि उभिएकै बेला आउछन्
मालिक बिरोधी भावहरू- ठेलमठेल
खुब व्यस्त हुन्छु- मलाई तिम्रो याद आउँछ
म सक्दिनं- प्रेमिल केही शब्द लेखेर सन्देश पठाउन
न सक्छु- खल्तिबाट फोन झिकेर आभा गर्न
व्यस्त हुँदा जब म तिमीलाई सम्झिन्छु
बिर्सने हजार प्रयासहरू बिफल हुन्छन् मेरा
फुर्सदमा जब तिमीलाई सम्झिन खोज्छु
सम्झिनुको त्यो मीठो अनुभुती हुन्न !
फुर्सदमा म
तिमीसँगको भेटमा गर्ने गफको फेहरिस्त बनाउछु
जब तिमीसँग भेट हुन्छ
आँखा हेर्छु- चुर्लुम्म ढुब्छु
ओठ हेर्छु- मोहको पहिरो खस्छ
आवाज बिहिन भएर फर्किन्छु
जब कुनै काम हुँदैन- बेरोजगार हुन्छु म
बेरोजगार भएपछि- पैसाले आधिपत्य जमाउछ म भित्र
जब पैसाले प्रहार गर्छ छातीमा- म केही गर्नै सक्दिनं
-- कविता भाग्छ
-- प्रेम भाग्छ
-- तिमीसँग झगडा पर्छ
लेखिदिन्छु कविता नै कविता
रित्याएर भावहरू-
रित्तो रित्तो भएर सकिन मन लाग्छ
कविले कविताको पारिश्रमिक माग्दा हाँसेथ्यो उ
उ किन हाँस्यो ?
कवि नखाइ बाँच्न सक्छ ?
कविता पढेपछि खान पर्दैन ?
कि कविता पढेर बाँच्न खोज्नु महापाप हो ?
जब कुनै काम हुँदैन- प्रश्नहरू खबरदारी गर्न आउँछन् !
जब कुनै काम हुँदैन- म सोच्छु
सरकारी तलब खाएकोले कसरी लेख्न सकेको होला
सरकार बिरोधी कविता ?
भ्रस्टाचारमा लिप्त भएको कवि भन्दै थ्यो-
कविलाई के को परिश्रमिक ?
-- कविता भन्न स्टेज भए पुग्छ
खुब हाँसो लाग्यो
एकैछिन भएपनि हाँसेर समय व्यतित भयो
जब कुनै काम हुन्न
शब्दहरू हामी छौँ भन्दै आउँछन्
काम नभएको बेला तिमी पनि आउ न
व्यस्त भएको बेला- म तिमीलाई खुब सम्झिन्छु !
शब्द र तिम्रो भेट भएको क्षण
म तिमीलाई शब्दको पेन्टिङमा कोरिदिन्छु !
Comments