भन्छन्-
ललाटमा तेस्रो नेत्र हुन्छ !
हो त्यही मेरो तोस्रो नेत्र छोपेर
ठिङ्ग उभिएको सुरक्षित पर्खाल
तलतिर तोक्चे बनेर अडिएको छस् तँ नाक
वर-पीपलको फेदमा ठडिएको
‘शिवलिङ्ग’ जस्तो !
मेरो रुप, रङ्ग न विवेक
न पौरख न त ज्ञान,
केही बढाउनमा तेरो कुनै भूमिका छैन !
लाटोकोसेराको चुच्चोजस्तै तँ नाक
मेरो जात छुट्याउन आइलागिस् -
कति राम्रो चिल्लो अनुहारलाई
गजधम्म आहाल बस्या भैंसीझैं
ढ्याप्प ढाकेर ठडिएको छस् तँ-
तँलाई हेर्दै ‘नाक नभएका’ मान्छेहरु
सजिलै छुट्याइदिन्छन् मेरो वंश-गोत्र
र, भन्छन्
‘यो नाक बोक्ने मान्छे पूँजीपति’
‘यो नाकको मालिक सामन्ती’-
‘यो नाकमाथि झण्डा टाङ्नुपर्छ’....
यस्तै के के के के सुन्नपर्छ सधैं !
मेरो बारीको जुनेलो खाने
हरियो सुगाको चुच्चो जस्तै तँ
मेरो सुकोमल अनुहारमा
कुरुप उभिएको छस् सारा इमान बिर्सेर
अनि सधैं तँलाई यसरी बोक्न विवश छु म
किनकि
कुनै दिन मलाई छोडी तँ हिँडीगइस् भने-
तिनै ‘नाक नभएका’-हरुले मतिर औंल्याई भन्नेछन्
‘फलानाले त नाकै राख्नसकेन’
‘आफ्नो नाक जोगाउन जानेन !’
मैले जिन्दगीमा गरेका उपलब्धि,
परोपकार, उन्नति र प्रगतिमाथि
तँ सित्तैमा पौरख जमाउँछस् र
श्रेय सप्पै लिन्छस्-अनि फेरि ती
मजस्तो ‘नाक नभएकाहरु’ भेला भएर
भन्न थाल्छन्-
‘फालानाले नाक राख्यो !’
ए नाक-मलाई यसरी दुःख दिन छोडी दे-
मेरा लागि सासे-प्वालमात्र छोडेर तँ जा
प...र पर कतै मैले नदेख्ने ठाउँतिर जा
मलाई यी अरु
‘नाकै नभएका मान्छे’सरह बाँच्न दे त !
यदि, तैंले यो अनुहार छोडिस् भने
मेरो तेस्रो नेत्र छोप्ने पर्खाल वरपर सर्ला कि-
पुतली भीरको चट्टान जस्तो यो पर्खाल
यता-उता सऱ्यो भने कतै तेस्रो नेत्र खुल्ला कि !
जाइहाल ! मलाई बिर्सेर पर जा-
यो नाके कवितामार्फत
तँ थेत्तरो नाकसित
मेरो यति नै नम्र निवेदन छ !
Comments