top of page
Search

म अलिकति कतै रहिरहन चाहन्छु

तिमीले प्रेम नगरे पनि

तिमीलाई म प्रेम गरिरहन चाहन्छु ।


ओइलिएर झरे पनि फूलहरु

म फूल झैं फूलिरहन चाहन्छु ।


पहाड नै त होइन -

तर / म पहाड जस्तै उभिरहन चाहन्छु ।


बग्दाबग्दै सुक्दै जाने खहरे

झर्दाझर्दै विलाई जाने हिउँका कणहरु

हुस्सु / कुहिरो र शीतका थोपाहरु जस्तै

म पनि त्यस्तै केही भैइरहन चाहन्छु ।


अपरिचित नदीको अविराम प्रवाह जस्तै

कालजयी गीतको कुनै अन्तरा जस्तै

हृदय छुने संगीतको कुनै संवेदना जस्तै

म पनि त्यस्तै केही हुन चाहन्छु ।


मलाई थाहा छ -

म क्षणिक हावाको क्षणिक स्पर्श हुँ !


मलाई थाहा छ -

म वितिजाने समयको एकक्षण हुँ / एक पल हुँ !


मलाई थाहा छ -

म केही पनि होइन / म कोहि पनि होइन !


यद्यपि ,

म यो धर्तीको माटोमा केहि भइरहन चाहन्छु ।


मलाई थाहा छ -

म नष्ट हुनेछु

तर / म कुनै न कुनै प्राणीको अवशेष भइरहन चाहन्छु ।


म नरहे पनि -

घाम / जून र / ताराहरु रहिरहने छ ।


म सकिए पनि -

पृथ्वीको कुनै कक्षमा

घामको कुनै किरणमा

जूनको कुनै उज्यालोमा

ताराहरुको कुनै समूहमा रहिरहन चाहन्छु ।


ब्रम्हाण्डको विशाल अस्तित्वभित्र -

म अलिकति कतै रहिरहन चाहन्छु !


कविः मौन आवाज

 
 
 

留言


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page