top of page
Search

मृत्यु

फूल फुल्नु,

फल्नु र झर्नु

रित हो सृष्टिको

सूर्य उदय हुनु

- प्रचण्ड रूप धारण गर्नु

- अस्त हुनु

संयोग नभएर योग हो

ए !! !!!अँ !!!!!

थाहा छ महोदय !!!

अरुको छातीमाथी

खुट्टा बजारेर ढुक्क नहोउ

अरुको आन्द्रा निचोरेर

आफ्नो भुडी भरेर

जुँगामा ताउ नलाउ जितको

गर्धन छिन्दैमा मृत्यु हुँदैन

यदि हुन्थ्यो भने

तिम्रो स्वाभिमानको शिरलाई उहिल्यै रेटिसकेका थियौ

आफ्नै हातद्वारा

आफैंलाई अर्थी बनाएर

तिमी त उहिल्यै

लास बनिसकेका छौ

त्यसैले महोदय फेरि बुझ

मृत्यु अन्त्य हैन

जीवनको रूपान्तरण हो

शरीरको, मनको

कर्मको अनि संस्कारको

हरेक सम्बन्ध र

सम्बन्धिहरूको !!!

मृत्यु गन्तव्य हो जीवको

जीवन भर मृत्युसँग भाग्ने

संघर्ष गर्छ, तुच्छ मान्छे

मृत्युसँग डराउँछ र लुक्छ

हरेक डरमा मृत्यु जोडिएकै हुन्छ

तर सबै मृत्युमा डर हुँदैन

मृत्युसँग नडराउने मान्छे

जीवनसँग पनि डराउँदैन

जीवनसँग नडराउने मान्छे

दुखसँग डराउँदैन

दुखसँग नडराउनेले आफ्नो

निहित स्वार्थ र खुसीको लागि

अरुको खुसी खोस्दैन

मृत्यु स्वीकार्ने मान्छेले

अरुलाई आँसु दिनुमा

अरुलाई पीडा दिन, रुवाउन

सक्नुलाई आफ्नो जित ठान्दैन

आँसु पुछ्नु नै जीवन हो

भन्ने उसले बुझेको हुन्छ

किनकी आँसु पुछिएपछि

मुस्कान मात्र बाँकी रहन्छ

मुस्कान खुसी हुनुको

प्रमाण मात्र हैन

जिउँदो हुनुको पनि

प्रमाण हो

यत्ती बुझेपछी उसको चेतनाले

पक्कै बुझ्ला

मृत्यु गन्तव्य हो

अन्त्य हैन !!!...

 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page